यस विद्यालयको स्थापन मिति २०६२ साल मा साविक बेसीबिचवा वडा न. ५, विकास बस्ती मा भएको थियो। विद्यालय सुरुवाती रूपमा ३ कोठे धुलौटे टहरा बाट सुरु भएको थियो। विद्यालयको सुरुवाती चरणमा कोठा निर्माणका लागि बाबुराम राना लाई अध्यक्ष बनाई तदर्थ समिति गठन गरिएको थियो। कोठा निर्माणका लागि नयाँ गाउँको अक्षय कोषबाट रू. ५०,००० (अक्षरेपी पचास हजार) सहयोग प्राप्त भएको थियो। साथै, गाउँका भद्रभलाश शिक्षा प्रेमी सामाजिक अगुवाहरूको नेतृत्वमा समुदायिक वनबाट काठ संकलन गरी ३ कोठे धुलौटे टहरा निर्माण गरिएको थियो। कक्षाकोठा खुला भएकाले पठनपाठन गर्न असहज हुने, कहिले गाई-गोरु त कहिले बाख्राले कक्षा कोठा बिगार्ने समस्या भइरहन्थ्यो। यस समस्यालाई मध्यनजर गर्दै विद्यालयको तदर्थ समिति तथा राम बहादुर राना को नेतृत्वमा दोंदानदीमा काठे पुल निर्माण गरी बाटुवाहरूबाट रू. १,१५,००० संकलन गरी कक्षाकोठाको भित्ता बनाउन सफल भएको थियो। विद्यालयको सुरुवातमा २ जना निजि स्रोतबाट तलब भुक्तान गरिने गरी तत्कालिन बाईसीबिचवा गा.वि.स. वडा न. ५, विकास बस्ती निवासी सेवाराम राना (प्र. अ.) र बबिता बडायक (सहायक शिक्षक) पदमा नियुक्त गरिएको थियो। मिति २०६३ पौष २५ गते जिल्ला शिक्षा कार्यालयबाट १ कक्षा सञ्चालन अनुमति प्राप्त भयो। त्यसपछि हरेक वर्ष थप कक्षा अनुमति प्राप्त गर्दै गयो। विद्यार्थी संख्या वृद्धि भएसँगै शिक्षकको अभाव पनि हुँदै गयो।